
काठमाडौँको कमलपोखरीस्थित शानदार मःममा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान ग्यास लिक भएर विष्फोट भएको हो ।
घाइतेहरु सबैको उद्धार गरिएको जनाइएको छ । खाना पकाउने ग्याँसको सिलिन्डर विस्फोट खतरनाक हुन्छ । सिलिन्डरबाट ग्याँस लिक भएर आगलागी हुने र कहिलेकाहीँ विस्फोट नै भएर जनधनको क्षति भएका घटनाहरु बेलाबेला सार्वजनिक भइरहन्छन् ।
ग्याँस सिलिन्डर सुविधाको दृष्टिले सजिलो भए पनि प्रयोगमा असावधानी अपनाउँदा यो खतरनाक पनि हुने गरेको छ । त्यसैले यसबाट हुने क्षतिको हिसाबलाई हेरेर कतिपयले ग्याँस सिलिण्डरलाई ‘भान्छाको बम’ को संज्ञा पनि दिने गरेका छन् ।
एकातिर असुरक्षित ग्याँस सिलिन्डरबारे उपभोक्ता सचेत हुन सकेका छैनन् भने जोखिमयुक्त ग्याँस सिलिन्डर बजारमा पुग्नबाट नियन्त्रण गर्न पनि सरकारले सकिरहेको छैन ।
त्यसैले उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको जोखिम बुझ्न र घातक बिष्फोटबाट बच्न आफैं सजग हुनु आवश्यक देखिएको छ । उपभोक्ताले ग्याँस सिलिन्डर खरिद दर्ता त्यसको प्रयोग गर्न मिल्ने म्याद पनि ख्याल गर्नुपर्ने हुन्छ ।
सिलिन्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक लेखिएका हुन्छन् । ती अंकले वर्षलाई बुझाउँछ ।
ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् । ‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ ।
यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।
यस्तै एक्सपायर्ड डेट बाँकी रहे पनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।
उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् । त्यसपछि ५÷५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था छ । यसैका कारण नेपाली बजारमा २० वर्षभन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् ।
नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५/५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि नगरेका हुनसक्ने अनुमान छ ।