
बंगलादेशको राजधानी ढाकामा पुनः हिंसा मच्चिएको छ । आवामी लिगले आयोजना गरेको विरोध प्रदर्शनअघि हिंसा भड्किएको हो । बुधबार राति प्रदर्शनकारीहरूले बङ्गलादेशका संस्थापक शेख मुजिबर रहमानको ढाका स्थित घर तोडफोड गर्दै आगजनी गरेका छन्।
शेख हसीनाका आफन्त शेख सोहेल र शेख जेवेलका घरहरूमा पनि बुलडोजर लगाएर भत्काइएका स्थानीय मिडियाहरूले खबर लेखेका छन्। हिंसा मच्चिएपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले इतिहास मेटाउन नसकिने र समयले बदला लिने चेतावनी दिएकी छन् ।
उनले भनेकी छन्, ‘एउटा घरसँग किन डराएको ? म बंगलादेशको जनताको लागि न्याय चाहन्छु । के मैले मेरो देशको लागि केही गरिनँ ? फेरि यति धेरै अपमान किन ? एउटा घर भत्काउन सकिन्छ तर इतिहास मेट्न सकिन्न । मेरो पिताको घर भत्काउनेले याद राखून्– इतिहास बदलिन्छ ।’
आवामी लिगले ६ फेब्रुअरी अर्थात् आजका लागि देशव्यापी प्रदर्शनको आह्वान गरेको थियो । लिगले प्रस्ताव गरेको देशव्यापी विरोध प्रदर्शनको पहिला नै कैयौं सहरमा बुधबार राति हिंसा भड्किएको हो ।
विद्यार्थी संगठन ‘२४ रिभोल्युसनरी स्टुडेन्ट– जनता’ले ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेपछि हिंसा सुरु भएको हो। प्रदर्शनकारीहरू ‘शेख हसिनालाई फाँसी दे’ भन्दै नारा लगाइरहेका थिए।