
१४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा पाल्पामा घरबेटीले एक जनाको हत्या गरेको खुलेको छ ।
तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेको खुलेको हो ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुढाथोकी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आएका थिए ।
मासिक पाँच सय रुपैयाँ दिने सहमति भए पनि पछिल्लो समय १४ सय रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी हत्या गरेको खुलेको अनुसन्धानमा खटिएका एक उच्च प्रहरी अधिकारीले बताए । बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।
सोही आधारमा बिहिबार घरबेटीलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्ट दैनिक मदिरा सेवन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
विष्टलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।