
अहिले सामाजिक सञ्जालमा एक पूरुषले बाटोमा हिंडिरहेकी एक महिला माथि खुकुरी प्रहार गर्न खोजिएको भिडियो भाइरल भइरहेको छ । ती महिला दोलखाकोे बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पारीवारिक अंशबण्डाका कारण आफ्नै मामाकी छोरी शिक्षिका माथि खुकुरी प्रहार गर्न खोजिएको खुलेको छ । अंशबण्डाको बिवादका कारण आफ्नै मामाकी छोरीलाई फुपुको छोरा भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारीले खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् ।
सोमबार स्कुल नजिकै तामाङमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए ।खुकुरी प्रहार गर्न खोज्ने अधिकारीविरुद्ध प्रहरीमा पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
स्कुल छुटी भए पछि घर जाने क्रम शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गर्न खोजेका सिसि टिभि फुटेजमा देखिएको छ ।
पारिवारीक स्रोतका अनुसार शिक्षिका तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्धा दायर भएको थियो । मुद्धा दायरपछि केहि खटपट सुरु भएको थियो ।
शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले मुद्धा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको जनाइएको छ ।
शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए । तामाङमाथि आक्रमण भएपछि उनले हिजो सोमबार नै जिल्ला प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएकी हुन् ।
यस घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।