
टनटलापुर घाम लागिरहेकैबेला काठमाडौंमा बाढी पसेको छ ।
विनावर्षा काठमार्डौको बवरमहलमा बाढी पसेको हो । मेलम्ची खानेपानीको पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो । अदालतको पहिलो तला नै डुबाएको छ ।
पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ । वरपरका खाजाघर लगायत सबै सटरमा पानी पसेको जनाइएको छ ।
काठमाडौं महानगर प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।
प्रहरीका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।