
कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटका कार्यक्रम बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ ।
अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार हिजोको तुलनामा उनीहरूको स्वास्थ्य सुधार भएको छ । यद्यपि घाउको अवस्थाबारे आज ड्रेसिङ भएपछि मात्रै जानकारी गराइने अस्पतालले जनाएको छ ।
शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।
उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।