Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

‘थारो’ भनेपछि घनले हानेर काका काकीको हत्या


प्युठानको माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको हो ।

घटनाको जानकारीपछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायव उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। डिएसपी बस्यालका अनुसार रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्। प्रहरीका अनुसार ‘प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले, काका काकीले सधैँ गाली गर्ने, थारो भनेर हेप्ने गरेकाले सहन नसकी घनले हानेर हत्या गरेको बताएका छन् ।

एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए। यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिबार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन– तीनपटक टाउकोमा प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र मृतकहरूको रगत पुछेको व्लाङ्केट बरामद गरेको छ । डिएसपी बस्यालले हत्याको सूचना दिने पहिलो व्यक्ति नै पङ्कज भएको पनि बताएका छन् ।

जसले प्रहरीलाई सबैभन्दा पहिला सूचना दियो त्यही व्यक्तिले हत्या गरेको खुलेको बस्यालको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार