Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

स्पष्टीकरणमा कुलमानको उल्टै चुनौती, मलाई हटाउने अधिकार ऊर्जा मन्त्रालयलाई छैन


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।

मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको दाबी गरेका हुन् ।

यसअघि ऊर्जा मन्त्रालयले २२ पुस २०८१ मा घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको थियो । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाएका थिएनन् ।

तेस्रो वर्षको कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था उनीसँगको सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुरूप विवरण नै नबुझाएका कारण भदौभित्र कार्यसम्पादन मूल्यांकन हुन नसकेकाले उनलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको थियो । उनले त्यसबेला बुझाएका स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले पुनः स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरण के कारणले चित्तबुझ्दो नभएको हो भन्दै घिसिङले प्रश्न पनि गरेका छन् ।

तर, घिसिङले उल्टै नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्थामध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?’ यकिन नभएकाले गोश्‍वरा आरोपमा कारबाही गर्न नमिल्ने दाबी गरेका छन् ।

आफूलाई लगाइएका आरोप मनोगत भएको, २४ घण्टाभित्र नै स्पष्टीकरण पेस गर्नुपर्ने र कारबाही गर्नुपर्ने जरुरी नदेखिएको लगायत कारणले यो स्पष्टीकरणका आधारमा पदबाट हटाउन नमिल्ने जिकिर पनि उनले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार