Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

राजावादीका विरूद्व माओवादी आन्दोलनमा उत्रँदै


राजावादीहरु प्रदर्शनका लागि निस्किएपछि काठमाडौंमा माओवादीको पहलमा गणतन्त्रवादीहरुले पनि प्रदर्शन गर्ने भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादीका एक नेताले जानकारी दिए ।

‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको तयारी भइरहेको छ । अरु दलहरू तयार हुन्छन् नभए माओवादी एक्लैले गर्छ’, ती नेताले भने । प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौंमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।

राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार काठमाडौं केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् ।

राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् । अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् ।

आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरी काठमाडौं आउँदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।

पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् ।

राजावादीहरु पनि उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार