Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

सहमति कार्यान्वयन नगरेको भन्दै तामाकोशी पाँचौका मजदुर दुईदिन देखि पुनः आन्दोलित


मजदुर र ठेकेदार पक्षबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै दोलखाको विगु गाउँपालिका ४ स्थित सुरिटारमा निर्माणाधीन तामाकोशी पाँचौ जलविद्युत् आयोजनाका मजदुर दुई दिनदेखि पुनः आन्दोलनमा उत्रिएका छन् । ठेकेदार कम्पनी र मजदुर बिच दुई साता अघि भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउदै मजदुरहरु आन्दोलनमा उत्रिएपछि बिहिवारदेखि आयोजनाका सबै काम ठप्प भएको हो ।

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन ९९ मेगावाट क्षमताको तामाकोशी पाँचौ जलविद्युत आयोजना निर्माणको ठेक्का पाएको चिनिया कम्पनी सिनो हाईड्रो के एस एन एस जेभी र आयोजनामा कार्यरत मजदुरबिच दुई साता अघि भएको सम्झौता ठेकेदार पक्षले कार्यान्वयन नगरेपछि आयोजनाका सबै काम बन्द गरेर आन्दोलनमा उत्रिन परेको नेपाली श्रमिक संघर्ष समितिका संयोजक जीवन मगरले जानकारी दिए ।

उनले दुई साता अघि भएको सम्झौतामा खासगरी नेपाली मजदुरहरुलाई रोजगारी सम्झौता गराउने, श्रम ऐन अनुसारको ज्याला उपलब्ध गराउने लगाएतका विषयमा लिखित सहमति भएपनि ठेकेदार पक्षले उक्त सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनमा उत्रिएको बताए । उनले आयोजनाको व्यवस्थापन पक्षले प्रहरी परिचालन गरि मजदुरलाई धरपक्कड गराएको आरोप लगाएका छन् ।

मजदुरहरुले एक विज्ञप्ति जारी गर्दै आयोजनाको व्यवस्थापन पक्षले रोजगारी सम्झौता उपलब्ध नगराउन्जेल र अन्य सहमतिमा उल्लेख भएका विषयको सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने विज्ञप्तिमा उल्लेख छ । उनिहरुले दैनिकै नाराबाजी सहित आन्दोलन गरिरहेका छन् । आयोजनामा झण्डै दुई सय भन्दा धेरै मजदुरहरु कार्यरत छन् ।

सबै नेपाली श्रमिकहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि आयोजनाको अडिट एक, अडिट दुई र विद्युतगृहका सबै काम ठप्प हुँदा आयोजनामा लाखौं घाटा भएको आयोजनाले जनाएको छ । यसबारे जानकारी लिन खोज्दा चिनिया कम्पनी सिनो हाईड्रोका प्रतिनिधि अनुप एलसी सँग टेलिफोन सम्पर्क हुन सकेन ।

 


प्रतिक्रिया दिनुहोस !
विचार