Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पाटनमा निवेदन दिए रविले


काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग गरेको निर्णयविरूद्ध रवि लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्। शुक्रबार उच्च अदालत पाटन पुगेर उनले ६० लाख धरौटी माग्ने निर्णय बदरको माग गर्दै निवेदन दिएका हुन्।

माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए।

आदेशअनुसार लामिछानेले धरौटी बुझाएर छाडेका थिए। त्यसविरूद्ध लामिछाने शुक्रबार उच्च अदालत पाटनमा पुगेका हुन्। यही कसुरमा उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेसहित सहकारीकी सदस्य सुनिता नेवा, कमल लामा र छविलाल जोशीलाई थुनामै राख्न माग राखेर निवेदन दर्ता गरिसकेको छ।

जिल्ला अदालतले छविलालसँग ५० लाख रुपैयाँ, सुनितासँग ४ लाख रुपैयाँ र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो। लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन्।

कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले एक करोड धरौटी माग गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार