Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

सडकमा सिठ्ठी फुक्दै शिक्षकहरु


नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरुले आज आन्दोलनको पाँचौदिन सिठ्ठी फुकेर प्रदर्शन गरेका छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरु सरकारको ध्यान आकर्षण गराउन सिठ्ठी बजाएर प्रदर्शनमा उत्रिएका हुन्।

नाचगान र जादु देखाउँदै प्रदर्शन गरिरहेका शिक्षकहरुले आफूहरुको गुनासो नसुनेको भन्दै आज सिठ्ठी बजाएको शिक्षकहरु बताउँछन् । त्यसै गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनरत छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’

महासंघले आन्दोलनको अवधिमार उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि एसईई नतिजा प्रकाशन तयारीमा ढिलाइ हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार