आन्दोलनरत शिक्षकहरुले एसइइको उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । चैत २० देखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरुले चैत २५ देखि शैक्षिक हडतालसँगै सामुदायिक विद्यालयका शिक्षकले कपी जाँचसहित कुनै पनि शैक्षिक गतिविधि नगर्ने घोषणा गरेका हुन् ।
नेपाल शिक्षक महासंघले आज आइतबार विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल घोषणा गरेको छ । “हडताल भनेपछि पढाइ, उत्तरपुस्तिका जाँच केही पनि नहुने आन्दोलनरत शिक्षकहरु बताउँछन् । एक शिक्षकले भने “एसईईको नतिजा समयमै गर्नुपर्छ भने सरकार जवाफदेही हुनुपर्छ ।”
यही चैत १९ गते सकिएको एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तालिका छ । पटक–पटक छलफलका निम्ति बोलाउँदै सरकारले शिक्षकलाई अलमल्याउने काम मात्र गरेको भन्दै वार्तामा बसेर समय खेर नफाल्ने संघको अडान छ ।
“सरकारको नियत ठिक छ भने बर्खे अधिवेशन बोलाएर वा बजेट अधिवेशनकै समयमा शिक्षा ऐन टुंग्याउने गरी अघि बढोस्,” उनले भने, “हामीलाई सहमतिका बुँदा थप्न वार्तामा बस्नु छैन ।”
संसद् अधिवेशन नचलेको हालको अवस्थामा अध्यादेश वा विशेष अधिवेशनमार्फत शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक पाँच दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् ।





