Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

ज्वाला संग्रौलाविरुद्ध अवहेलना मुद्धा दर्ता


रास्वपाकी केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेश लगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् ।

’न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु प¥या छ,’ आदेश आएको केही बेरमै उनले लेखेकी छन् ।

त्यसयता सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी छन् । अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको भन्दै केसीले अवहेलना मुद्दा दायर गरेका हुन् ।

सङ्ग्रौलाको उक्त अभिव्यक्ति फौजदारी कसुर भएको र आफू कानुनको विद्यार्थी भएकाले कानुनको विद्यार्थीको रुपमा सङ्ग्रौलाको अभिव्यक्तिले आफ्नो मर्यादामाथि पनि आँच पुगेको निवेदनपत्रमा उल्लेख छ ।

अदालत कसैप्रति भयभीत र पूर्वाग्रही नहुने भन्दै केसीले सङ्ग्रौलालाई तत्काल पक्राउ गरी न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ सजायको माग गरेका छन् ।

सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिँदै आएकी सङ्ग्रौला पछिल्लो समय रास्वपाको केन्द्रीय सदस्यका रुपमा पार्टीका गतिविधिमा आबद्ध छिन् । उनी यसअघि पनि अभद्र व्यवहार पक्राउ परी धरौटीमा छुटेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार