Logo
३० जेष्ठ २०८३, शनिबार
|  Sat Jun 13 2026

रोहित भण्डारीको प्रेरणादायी पुस्तक ‘दिए पुग्छ’ सार्वजनिक


पत्रकार रोहित भण्डारीको तेस्रो पुस्तक ‘दिए पुग्छ’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर , प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, लेखक रोहित भण्डारी लगाएतले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उपसभामुख राना मगरले प्रेरणादायी पुस्तक लेखकका रुपमा पहिचान बनाएका भण्डारीको ‘दिए पुग्छ’ पुस्तकले परोपकारी समाज निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताइन् । यसअघिका दुई पुस्तक ‘सम्भव छ ’ र ‘नेपालमै सकिन्छ’ जस्तै ‘दिए पुग्छ’ ले पनि पाठकको मन जितोस् भन्दै उनले शुभकामना व्यक्त गरिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुस्तक लेखनको यात्रामा रोहित भण्डारीले समातेको बाटो प्रशंसनीय रहेको बताए । भण्डारीको लेखन शैलीदेखि लिएर विषयबस्तुको छनोटसम्म उत्कृष्ट रहेको बताउँदै उनले ‘दिए पुग्छ’ पठनीय कृति रहेको विश्वास व्यक्त गरे ।

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार बलराम दाहालले पत्रकार रोहित भण्डारीको लेखन शैलीबाट आफू प्रभावित भएको बताए । वास्तविक पात्रहरुका प्रेरणादायी कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको पुस्तक ‘दिए पुग्छ’ पढ्दै जाँदा आफू धेरैपटक भक्कानिएको उल्लेख गर्दै दाहालले नेपाली साहित्यमा फरक धारको लेखकका रुपमा भण्डारीले आफूलाई अघि बढाएको बताए ।

यस्तै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले प्रेरणादायी पुस्तक लेखनको क्षेत्रमा रोहित भण्डारीले चालेको कलम अनुकरणीय रहेको बताए ।

लेखक भण्डारीले पुस्तक वास्तविक पात्रहरुको कथामा आधारित रहेको बताउँदै कथा लेखनका लागि आफू महिनौंसम्म विभिन्न गल्ली, आश्रम र घाटमा पुगेको बताए । यसअघिका आफ्ना दुई पुस्तकले झैैं यो पुस्तकले पनि पाठकको माया पाउँने विश्वास व्यक्त गर्दै उनले परोपकारी भावनाको हेतुले कथात्मक शैलीमा वास्तविक पात्रहरुलाई पुस्तकमा समावेश गरेको उल्लेख गरे ।

पुस्तक जयकाली प्रकाशनले प्रकाशित गरेको हो । प्रेरणादायी पुस्तक लेखकको परिचय बनाएका भण्डारीको यसअघि २०७१ सालमा ‘सम्भव छ ’ र २०७३ सालमा ‘नेपालमै सकिन्छ’ प्रकाशित भएको थियो । यी दुई पुस्तकका लागि उनले राष्ट्रिय युवा प्रतिभा सम्मान समेत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार