Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

निजामती कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गरिने


राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राखेर चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलित शिक्षकहरू विद्यालय नफर्कने अवस्था बनेका खण्डमा निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने पक्षमा बोर्ड उभिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐनका लागि शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नरहने भन्दै अविलम्ब वार्ता गरी विद्यालय फर्कन आग्रह गरिरहेको अवस्थामा बोर्डले पनि सम्भव भएसम्मका विकल्प खोजेर कक्षा १२ को परीक्षा चलाउन खोजेको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिएका छन् । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरेका छन् । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने ।


प्रतिक्रिया दिनुहोस !
विचार