Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

प्रचण्डलाई मुसा र घोँघीको चटनी खुवाएर स्वागत


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीका नेता कार्यकर्ताले मुसा, गँगटाको चटनी र घोँघी जस्ता परम्परागत तथा मौलिक परिकारले स्वागत गरेका छन् ।

मधेश हुलाकी मार्ग जागरण अभियान अन्तर्गत कैलाली पुगेका माओवादी अध्यक्षसहितका पदाधिकारीहरूलाई स्थानीयले आफ्नै घरमा पाकेको थारु पहिचानसँग जोडिएका परिकार खुवाएर स्वागत गरेका हुन् ।

कैलाली गाउँपालिका ५ बैजपुरमा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई चामलको कनिकाबाट बनाइने खुडिक कपुवा, मुसा, गँगटा र बयरको चटनी लोकल कुखुराको मासु, घोँघी, खरियालगायत परिकार बनाएर त्यहाँको स्थानियले खुवाएका हुन् ।

स्थानीयहरूका अनुसार कार्यक्रम हुनु एक दिन अगाडिदेखि नै उनीहरु मुसाको खोजीमा खेत खन्न लागेका थिए । घोंघी, गँगटा र माछा मार्न कटैनी र मोहना नदीदेखि तालतलैया गएका थिए । जागरण टोलीमा जानेहरुलाई स्थानीयले सालको टपरी र दुनामा खुवाएका थिए । सोही अनुसार प्रचण्डलगायत नेताहरूलाई टपरीमा भात पस्केर दिएका थिए भने दुनामा तरकारी ।

‘हामीले हाम्रो पहिचान झल्किने खाना उहाँहरूलाई खुवाएका हौँ’ कैलाली गाउँपालिका अध्यक्ष बतासु चौधरीले भने, ‘हामी जसरी खान्छौँ उहाँहरूले पनि त्यसैगरी खानु भयो ।’ परम्परागत परिकार खाएका प्रचण्डसहितका नेताहरूले परिकारबारे पनि जानकारी लिएका थिए ।

स्थानियहरुले खाना खुवाउदा र कार्यक्रममा नै प्रचण्ड लगायत सबै पाहुनालाई कुर्सीमा नभइ खटियामा राखेका थिए । गर्मी छल्नका लागि बेना (हाते पङ्खा) प्रयोग गराएका थिए भने खाना बरण्डामै राखेर खुवाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार