Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

मापसे गरेर वन मन्त्रालयका अधिकृतद्वारा चालकमाथि कुटपिट


लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका आठौं तहका एक अधिकृतले मदिरा सेवन गरी मन्त्रालय अन्तर्गतकै सवारी चालकलाई अभद्र व्यवहार र हातपात गरेको भन्दै कारबाहीको माग गरिएको छ ।

स्रोतका अनुसार मन्त्रालयले भालुवाङको होटेल पौवामा वैशाख १६ गते साँझ आयोजना गरेको खानपान कार्यक्रममा अधिकृत दुर्गाप्रसाद खत्रीले वन कार्यालय बांकेका हलुका सवारी चालक कर्णबहादुर गुरुङमाथि विना कारण दुव्र्यवहार र हातपात गरेका हुन् ।

अधिकृत खत्रीले अत्यधिक ‘मदिरा सेवन गरी आफूलाई सरुवा गरिदिन्छु’ भन्दै विवाद झिकेर अपशब्द बोल्दै हातपातमा उत्रिएको चालक गुरुङको भनाई छ । आफूमाथि हातपात गर्ने मुख्य व्यक्ति खत्री भएपनि मन्त्रालयकै स्टोर शाखाका प्रमुख अधिकृत (छैठौं) तारा शर्माले खत्रीलाई साथ दिएको गुरुङले बताएका छन् ।

हातपात भएपछि गुरुङसहित मन्त्रालय अन्तर्गका कार्यालयका २० जना चालक र नेपाल निजामति कर्मचारी युनियनले हातपातमा संलग्न अधिकृत खत्री र शर्मामाथि कारबाहीको माग गर्दै वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पनि दिइएको नेपाल निजामति कर्मचारी युनियन स्रोतले जनाएको छ ।

मन्त्री कलवारले दुवै पक्षलाई आइतबार मन्त्रालयमा बोलाएर छलफल गराई पीडितको चित्त बुझ्नेगरी गल्ती गर्नेले माफी माग्नुपर्ने अन्यथा कारबाही प्रकृया अघि बढाउने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार