
एलिसन हस्पिटालिटी प्रा.लिद्धारा आयोजित ‘टुरिजम प्रोजेक्ट सोकेश कोशी २०२५’ को पहिलो चरण सम्पन्न भएको छ । ‘टुरिजम प्रोजेक्ट सोकेश कोशी २०२५’ को पहिलो चरण अन्तर्गत शनिबार ‘कन्सेप्ट पेपर सेलेक्सन’ नेपाल माउण्टेन एकेडेमी थापा गाउँमा सम्पन्न भएको हो ।
नेपालमै पहिलोपटक आयोजित पर्यटनको प्रोजेक्ट बनाएर सोकेश गरिने कार्यक्रम ‘कन्सेप्ट पेपर सेलेक्सन’ मा १९ टिमको सहभागिता रहेको थियो । जस अन्तर्गत १० टिम छनौटमा पर्न सफल भएका छन् । १० टिममा एग्रो भिलेजः नेपाल इन्जिनियरिङ कलेज, स्केट्च स्क्वायरः पुल्चोक कलेज, केटुपिएः पुल्चोक कलेज, एक्मी कोस्टरः एक्मी इन्जिनियरिङ कलेज छनौटमा परेका हुन् ।
त्यसैगरी पुल्चोक इयर फाइभः पुल्चोक कलेज, पाथफाइण्डरः पुल्चोक कलेज, बियोण्ड द ब्रिउः ख्वपः इन्जिनियरिङ कलेज, विनरः पुल्चोक कलेज, टिम कोशी एक्सप्लोरलः पुल्चोक कलेज, र रुरल रिड्ज विल्डर्सः नेपाल इन्जिनियरिङ कलेज छनौटमा परेका छन् ।
दोस्रो चरण तथा फाइनल कार्यक्रम जेठ ९,१० र ११ गते जी रामायणा होटल काठमाडौंमा हुने आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले बताइन् ।
‘टुरिजम प्रोजेक्ट सोकेश कोशी २०२५’ मा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहलाई स्थान दिइएको अध्यक्ष मगरले बताइन् ।
पहिलो चरणमा कोशी प्रदेशको पर्यटन प्रोजेक्ट बैंक तयार गरी सहभागि विद्यार्थीले कन्सेप्ट पेपर प्रस्तुत गरेका थिए । मगरका अनुसार शनिबार छनौट भएका १० टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थलमा गएर स्थलगत अध्ययनपश्चात सो प्रोजेक्टको ड्रइङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्दछ ।
प्रतिष्पर्धीहरू अनिवार्य सिभिल वा आर्किटेक्टको हुनुपर्ने साथै उनीहरुले आवश्यकतानुसार टीममा मेनेजमेन्ट वा आइटीका विद्यार्थीलाई पनि सामेल गराउन सकिने अध्यक्ष मगरको भनाई छ ।
मगरका अनुसार ‘टुरिजम प्रोजेक्ट सोकेश कोशी २०२५’ को उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन व्यवसाय प्रवद्र्धनमा नयाँ उपायहरूको खोजी गरी विद्यार्थीहरूलाई व्यावसायिक स्तरमा अवसर प्रदान गर्ने, सो प्रदर्शनीमा लगानीकर्ताहरुलाई अवलोकनका लागि आह्वान गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १ लाख, द्वित्तीयलाई नगद रु. ५० हजार, तृतियलाई रु.२५ हजार र सहभागी सम्पूर्ण टिमले रु. १० हजार साथै प्रमाणपत्र, एवं आकर्षक गिफ्ट पाउनेछन् ।