सुधार केन्द्रमा एक किशोरलाई निर्मम यातना दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । रौतहटको गौर नगरपालिका ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रभित्रै एक किशोरलाई तीन जनाले समातेका छन्, अनि एक जनाले लठीले खुट्टाको पैतालामा निर्ममतापूर्वक कुटिरहेको भिडिओमा देख्न सकिन्छ ।
कुटिने ती किशोर पिँडाले छटपाउछन् तर, पनि ती तीन जना व्यक्तिले छोड्दैनन् । उक्त भिडिओमा कुट्दा चिच्याहटको आवाज नआओस् भनेर ठूलो आवाजमा (डिजे) बजाएको छ । सार्वजनिक भएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै धेरैले ‘अविलम्ब प्रहरीलाई एक्सन लिन’ माग गरेका छन् ।
उक्त सुधार केन्द्र वीरगञ्जका सुरज साह कानूले चलाइरहेको खुलेको छ । कानूले आफूसँग ब्ल्याकमेल गर्न एक कर्मचारीले भिडिओ बनाएर भाइरल गरेको बताएका छन् । भर्खरै भाइरल गरिएको भिडिओ ७÷८ महिना अगाडिको भएको र कर्मचारीले नै भिडिओ बनाएर आफूलाई ब्ल्याकमेल गर्न खोजेको कानूको भनाइ छ ।
उनका अनुसार कुट्ने व्यक्ति सिपु पाण्डे हुन् । भिडिओ चाहिँ विकास गुप्ताले खिचेका हुन् । यी दुवै जनामाथि सात महिना अगाडि नै प्रहरीमा उजुरी दिएको उनको भनाई छ । कुटिएको व्यक्ति एक महिना मात्रै सुधार केन्द्रमा बसेर गइसकेको पनि सञ्चालक कानूले बताए ।
सुधार केन्द्रबाट सिपु र विकासलाई समेत हटाइसकेको कानूले बताए ।