
पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको बताएका छन्। पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल परनिर्भर मात्रै नभइ अत्यधिक भारत निर्भर रहेको बताउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व अझै लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिएका हुन् ।
नेपाल भूकम्प र कोभिड महामारीपछिको पुनस्र्थापनाको चरणमा रहेको अवस्थामा यस्तो सम्भावित संकटले देशलाई पुनः धक्का दिने उनले उल्लेख गरे । भारतले गत बुधबार पाकिस्तानमा क्षेप्यास्त्र आक्रमण ग¥यो । दुई हप्ता अघि विवादास्पद कश्मीर क्षेत्र अन्तर्गत भारतको नियन्त्रणमा रहेको कश्मीरको भूभागमा भयानक आतङ्ककारी हमला भएको थियो । आपसमा प्रतिद्वन्द्वी रहेका भारत र पाकिस्तानबिच यो हमलाले थप आक्रामकता बढायो ।
यही हमलाको केही समयपछि भारतले पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको हो । पाकिस्तानी अधिकारीहरूका अनुसार ३० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । साथै पाकिस्तानले ‘आफैँले रोजेको स्थान र समयमा’ यसको जबाफ फर्काउने घोषणासमेत गरेको छ । भारतले अप्रिल २२ मा कश्मीरमा भएको हमलाको बदला लिएको बताएको छ ।
कश्मीरमा भएको हमलामा दुई दर्जनभन्दा धेरै सर्वसाधारण मारिएका थिए । मारिनेहरूमा अधिकांश हिन्दु पर्यटक थिए । भारतका अनुसार त्यो हमलाका पछाडि पाकिस्तानको हात छ ।
पाकिस्तानले भने पटक–पटक भारतीय दाबीको खण्डन गर्दै आएको छ ।