Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

युवा संघको उपाध्यक्ष पदका उम्मेदवार गौतम भन्छन्, युवालाई उद्यमशिलतातर्फ जोड्नुपर्छ


नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा नयाँ नेतृत्व छनौटका लागि आज चुनाव हुँदैछ । अध्यक्षका दावेदारमध्येका एक सुमन पुरीको प्यानलबाट प्रकाश गौतमले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुरुदेखी नै चुनावको पक्षमा आवाज उठाउँदै आएका गौतमसँग गरिएको कुराकानीः

तपाईंले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । तपाईंलाइ नै किन जिताउने ?

२०६४ देखी म राष्ट्रिय युवा संघ नेपालमा आवद्ध भएँ । युवा संघको वडा कमिटिदेखी काठमाडौं महानगर वडा नम्बर १० बाट समेत जोडिए । सातौं महाधिबेसन लहान भएको थियो, त्यसमा पनि म प्रतिनिधि थिए । ०६९ मा बुटवलमा भएको महाधिबेसनमा म निर्वाचित केन्द्रीय सदस्य हो । बिचको कालखण्डमा भुकम्पका कारण समयमै अधिबेसन हुन सकेन । त्यसबिच म बागमति प्रदेशको संस्थापक अध्यक्ष भएर पनि काम गरें ।

मलाई के लाग्छ भने आज हामी राष्ट्रिय युवा संघ नेपाल जुन अवस्थामा आई पुगेका छौं, लामो इतिहास पार गरेर आएका हौं । हिजो वाईसिएलका विकृती, बिसंगति तोड्न युथ फोर्स गठन गर्‍यौं। यी लगायत तमाम अवरोधहरुलाई तोड्दै यहाँसम्म आई पुग्यौं ।

मुख्य कुरा युवालाई कसरी उत्पादनमा जोड्न सकिन्छ, भन्नेमा मेरो ध्यान छ । आजका युवालाई उत्पादनमा जोड्नैपर्छ । नत्र युवा पलायन अझ बढ्छ । युवालाई उद्यमशिलतामा जोड्नैपर्छ । स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । युवालाई व्यवसायी बनाउने र राष्ट्रिय पुँजी निमार्ण गर्ने हाम्रो एजेन्डा हो ।

तपाईंले उठाएका एजेन्डाहरू कसरी कार्यान्वयन गर्नुहुन्छ ?

म आफू भौतिक रुपमा मुलुकका ६५ जिल्ला पुगेर त्यहाँको बस्तुस्थितीको अध्ययन गरें । लामो अनुभव हासिल गरेको छु । पेशा, व्यवसाय गर्ने तमाम युवाहरु मैले भेटेको छु । अन्य उम्मेदवार भन्दा यस विषयमा मलाई बढी अनुभव छ । यसअघि पनि मैले संगठनको उपाध्यक्ष पदमा बसेर काम गरिसकेको छु । यो विषयलाई प्रभावकारी ढंगमा म उठाउन सक्छु जस्तो लाग्छ । मैले सिकेका कुरा युवाहरुमाझ प्रयोग गर्न सक्छु भन्ने म दावी गर्छु ।

तपाईंको पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भयो भनिन्छ नि ?

हाम्रो संगठनमा आफ्नो विधान छ । हामीमाथि इन्चार्ज हुनुहुन्छ । पार्टीमा बिभिन्न लेयर छ । संगठनमा कुनै गुट छैन । नेताहरुको नजरमा हामी सबै बराबर छौं ।
चुनावमा सर्वसम्मत हुने चर्चा चलेको थियो । अत्यमा किन हुन सकेन ?

पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ज्यूले सकेसम्म सर्वसम्मत गर्नुहोस् नत्र स्वच्छ प्रतिष्पर्धा गर्नुस् भन्नु भएको छ । चुनाव हुदा सबै प्रतिष्पर्धीहरुबिच हार्दिकता बढाएको छ । संगठनलाई चलायमान बनाएको छ । यो त राम्रो पक्ष हो नि ।

उपाध्यक्ष पदमा जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म आशावादी छु । संगठनमा लामो समयदेखीको योगदान, क्रियाशिलता र मैले अंगालेको युवा लक्ष्ति विचारले गर्दा मलाई साथीहरुले विश्वास गर्नु हुन्छ भन्ने पूर्ण विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !
विचार