राजावादी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था पुनस्र्थापनाको वास्तविक लडाईं भोलिबाट सुरु हुने उद्घोष गरेका छन् ।
आज नारायणचौरबाट पक्राउ परेका थापालाई तुरुन्तै रिहा गरेर त्यहीँ ल्याइदिन उनले सरकारलाई सुझाव दिए । लिङदेनले भने, ‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु । म नेपाल सरकार, गृहमन्त्री वा यहाँ कमाण्ड गरिराखेका प्रहरी प्रमुखसँग भद्रतापूर्वक मेरो आग्रह छ, तपाईंहरुले कमल थापालाई यहीँ ल्याइदिनुस । होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं । खास लडाईं यहीँबाट सुरु हुन्छ ।’
राजावादीहरुको भद्रतालाई कमजोरी नठान्न लिङदेनले चेतावनी दिएका छन् । प्रहरीले घिर्सादै झ्यानाकुटी झ्यायैं पार्दै थापालाई भ्यानमा हालेको हो । थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरेका थिए ।
राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जनाएका छन् । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि पक्राउ गरिएको जनाइएको छ । थापासहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।





