माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गर्न खोज्दा शनिबार नुवाकोटमा कुटिनुका साथै पक्राउ परेका जनार्दन अधिकारीले आफुले सोध्न खोजेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । पक्राउपछि धेरैको फोन आएको भन्दै उनले आफु शकुसल रहेको जानकारी गराउँदै आफुले सोध्न खोजेको कुरा फेसबुकमा लेखेका हुन् ।
उनले लेखेका छन्ः
“आज मैले जुन किसिमको बर्बरता सहनुपर्यो त्यो लोकतन्त्रको नै उपहास हुनेगरी भएको क्रु’र तानाशाही बर्बरता थियो। मैले आम नागरिकको हैसियतले सोध्न खोजेको प्रश्न माओवादीले बुर्जुवा शिक्षा भन्दै पाठ्यक्रमबाट संस्कृत विषय हटाउनुभयो, के गणतन्त्र नेपालपछि तामाङ भाषा, मैथिली भाषा ,गुरुङ भाषा, नेवारी भाषालगायत अन्य कुनै भाषा पाठ्यक्रममा समावेश गरियो त ? आज यी भाषाहरू लोप हुँदैछन् । हिजो जसले बोर्डिङ ज’लायो उसैका कार्यकर्ताहरू करोडौं लगानी गरेर बोर्डिङ खोल्दैछन् । के यसले भोलि माओवादी नेतृत्वमा पुग्दा सरकारी विद्यालयको हक हितको लागि काम गर्छ कि, आफ्नो कार्यकर्ताको निजी विद्यालयलाई सहयोग पुग्ने गरी काम गर्छ?“ ।
अधिकारीले शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डलाई ‘एउटा प्रश्न छ, सोध्छु’ भनेका थिए । उनले प्रश्न छ भन्दा प्रचण्डले ‘यो समय सवालजवाफ गर्ने होइन। तपाई अघि पत्रकार सम्मेलनमा आउनु भएन, प्रश्न त त्यही सोध्न पाइन्थ्यो नि’ भन्ने जवाफ दिए। जबकि, पत्रकार सम्मेलनमा पनि गैरपत्रकार नागरिकले प्रश्न सोध्न पाउने अधिकार होइन।
‘जनताले नेतालाई प्रश्न नै सोध्छु भन्दा यो तहको यातना दिइन्छ भने कुन गणतन्त्र ल्याएछ माओवादीले?’, सर्वसाधारणले प्रश्न गरेका छन्। कार्यक्रममा सहभागी भएका कतिपय महिलाहरुले अधिकारीले प्रश्न गर्न पाउनुपर्ने र सोध्छु भन्दा नै किन धरपकड गरेको भनी बिरोध समेत जनाएका थिए। प्रचण्डले यति भनिसक्दा नसक्दै उनका पीएसओले युवकलाई बाहिर जान निर्देशन दिए। केही प्रहरी आएर उनलाई पक्राउ गरेर लगे। पाँच मिटर पर पुग्ने बित्तिकै युवकमाथि अन्य व्यक्तिले युवकमाथि हातपात गरे।
यसो भइरहँदा आयोजकले प्रचण्डलाई मायाको चिनो प्रदान गरेको थियो। दर्शकदिर्घाबाट धेरैको आवाज आयो ‘प्रश्न राख्छु भन्दैमा हातपात गर्न र लछारपछार गर्न त पाइँदैन नि । युवकले प्रहरीकै घेरामा केही मुक्काको सामना गरे । प्रहरीले अधिकारीलाई पक्राउ गरेको केहि समयपछि छाडेका थिए ।
कतिपय राजनीतिक टिप्पाणीकारहरुले यस्तो घटना प्रचण्डकै गुन्डागर्दी शैली रहेको पनि बताएका छन् । अर्कातिर भने प्रचण्डमाथि असुरक्षा हुन सक्ने सम्भावनाका कारण पनि युवालाई रोकिएको अनुमान गरिन्छ।
किनभने प्रचण्डले एक पटक चड्कन र अर्को पटक जुत्ताको झटारो भेटेका थिए। एक कार्यक्रममा पदम कुँवरले चड्कन र रतन तिरुवाले जुता प्रहार गरेका थिए। यस घटनापछि प्रचण्डको सुरक्षा टोली केही चनाखो हुने गरेको पाइन्छ।






