लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको हो ।
गोली चल्दा दुई जना गम्भिर घाइते भएका छन् । प्राप्त जानकारी अनुसार गम्भिर घाइते हुनेमा दुवैजना भारतीय नागरिक रहेका छन् । दुईजना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । प्रत्यक्षदर्शीहरुले प्रहरीले गोली लागेर एकपटक उठेकालाई फेरि दोहो¥याएर हानेका थिए । उक्त स्थानमा चारैतिर रगत छरिएको छ ।
उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।
उनीहरुलाई कार्यालयमा ल्याउने काम भएकाले परिचय भने यकिन गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।
सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।






