नेकपा (एकीकृत समाजवादी)ले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उप–महासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरेको बिहीबार उप–महासचिव गंगालाल तुलाधर विज्ञप्तिमार्फत् जानकारी दिए । एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ । बैठकले न्यायपालिकामा देखापरेको समस्यालाई गम्भीर रूपमा लिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको छ ।
एकीकृत समाजवादीले सरकारको कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति निर्देशन अनुसार प्रभावकारी रूपमा काम गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै मन्त्री र मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति, सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय अनुसार गर्ने निर्णय गरेको छ ।





