काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले छानबिन समिति गठन गर्ने तर त्यसका प्रतिवेदन सार्वजनिक नगर्ने सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषयमा विशेष सम्बोधन गर्दै सभापति थापाले विगतका घटनामा गठन भएका समितिका प्रतिवेदन नै सार्वजनिक नभएको अवस्थामा सरकारको अनुसन्धान प्रक्रियामाथि कसरी विश्वास गर्ने भन्दै प्रश्न उठाएका हुन् ।
उनले सरकारको अनुसन्धान निष्पक्ष हुनेमा गम्भीर आशंका रहेको बताए । उनले गृहमन्त्रीको सम्पत्तिसम्बन्धी विवादमा गठन गरिएको छानबिन समिति, भदौ २४ को घटना तथा सुनसरीको कप्तानगञ्ज घटनाको अनुसन्धान गर्न बनेका समितिका प्रतिवेदनबारे सरकारसँग जवाफ मागे ।
सभापति थापाले सरकारको यस्तो कार्यशैलीलाई गैरजिम्मेवार र स्वेच्छाचारी प्रवृत्तिको संज्ञा दिँदै राज्यका गतिविधिमाथि नागरिकले निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए ।








