ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएसन नेपालबीच समझदारी भएको छ । पुष्पखेती तथा आलंकारिक सौन्दर्यीकरण, बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र त्यसनिम्ति सहज कर्जा प्रणालीको विकास गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीपत्रमा बैंकका इन्फ्रास्ट्रक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकलक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएसनले आफ्ना सदस्यलाई बैंकको कृषि कर्जा योजनाका बारेमा जानकारी प्रदान गर्नेछ ।
यसबाट व्यवसायी तथा कृषकको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै, यो सहकार्यले जलवायुअनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसात् गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंक र एसोसिएसनबीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीलक्षित वित्तीय पहँुच विस्तारका साथै फूल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास छ ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।




