६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो ।
पुसको एक महिनामै ३६ अर्ब ४३ करोड रुपैयाँ ऋण उठाइएको छ । यसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ भने ६ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण प्राप्त भएको छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५.९५ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋणको अनुपात २१.६० प्रतिशत र बाह्य ऋणको अनुपात २४.३५ प्रतिशत रहेको छ ।
नेपालको पछिल्लो जनसङ्ख्यालाई आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ रहेको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यसमध्ये पुस मसान्तसम्ममा २ खर्ब १४ अर्ब ५५ करोड प्राप्ति भएको छ । यो वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो ।
यसमध्ये आन्तरिक ऋणतर्फ ३ खर्ब ६२ अर्बको वार्षिक लक्ष्य रहेकोमा १ खर्ब ७७ अर्ब ६६ करोड अर्थात् ४९.०८ प्रतिशत प्राप्त भएको छ । २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्यमा जम्मा ३६ अर्ब ८९ करोड अर्थात् १५.७९ प्रतिशत मात्र प्राप्ति भएको छ ।




