राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ मा हुने निर्वाचनमा प्रतिपक्षविहीन हुनेगरी मत दिन आग्रह गरेका छन्। शुक्रबार चितवनको गेस्ट हाउस चौरमा आयोजना गरेको ‘परिवर्तन उद्घोष’मा उनले पुराना पार्टीलाई सडकमा पुर्याउने गरी रास्वपालाई मत दिन आग्रह गरेका हुन् ।
‘यो पटक अन्य पार्टीले एक सिट पनि जित्नु हुँदैन । यता पनि रास्वपा, उता पनि रास्वपा । पूर्वाग्रह राखेर भनेको होइन, उहाँहरूले इतिहासमा गरेका योगदानको कदरस्वरुप पाँच वर्ष सडकको प्रतिपक्ष बनाउनुपर्छ’, उनले भने ।
मौन अवधि सुरु हुन तीन दिन बाँकी रहँदा रास्वपाले रविको निर्वाचन क्षेत्र रहेको चितवन–२ मा शक्ति प्रदर्शन गरेको हो । कार्यक्रममा पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डा. स्वर्णिम वाग्ले, चितवन–१ का उम्मेदवार तथा सचिवालय सदस्य हरि ढकाल, चितवन–३ की उम्मेदवार तथा सचिवालय सदस्य सोविता गौतमलाई सँगै राखेर आसन्न निर्वाचनमा निलो क्रान्ति हुने उनले उद्घोष गरे । ‘निलो चितवन निलो क्रान्ति’को उद्गम जिल्ला भएकाले अब देशैभर परिवर्तनको घण्टी बज्ने उनले जिकिर गरे ।
सहकारी ठगी मुद्दामा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमाण छ भनेको ६५८ दिन बितिसक्दा समेत प्रमाण देखाउन नसकेको रविले जिकिर गरे । यसैगरी सहकारी ठगी मुद्दामा पुर्पक्षमा पठाउने अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा एक प्रहरी अधिकृतले राति शयन कक्षमा पुगेर अन्तिम इच्छा सोधेकोप्रति रविले आक्रोश पोखे । त्यो अन्तिम इच्छा फागुन २१ गते मत मार्फत देखाइदिन आम मतदातासँग उनले आग्रह गरे ।
‘म विरुद्ध प्रमाण छ भनेको ६५८ दिन भएछ । अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । तेरो अन्तिम इच्छा के हो भनेर बेडरुममा सोधेको मैले जवाफ दिएको थिइनँ’, उनले भने, ‘मेरो अन्तिम इच्छा के हो ? फागुन २१ गते भोटबाट देखाइदिनुहोला । यो मागी खाने देश होइन । यो गरिखाने देश हो । हामी सुशासनको मानक बनाउन चाहन्छौँ ।’
जेनजी विद्रोहका क्रममा तत्कालीन राज्य पक्षमा रहेका राजनीतिक दलका नेताहरूले पहिला देश जलेको र त्यसपछि गोली चलेको भाष्यलाई रविले खारेज गरे । कलिला निहत्था बालबालिकामाथि गोली ठोक्ने र देश जलाउने कांग्रेस र एमाले नै रहेको आरोप लगाए ।
त्यसअघि छोटो भाषण गरेका वरिष्ठ नेता बालेन शाहले देश नेपाली कांग्रेसको वाई वाई चाउचाउ फ्याक्ट्री चलेको जस्तै चल्नुपर्ने व्यंग्य गरे । अहिले देशको अवस्था देश हेटौँडा सिमेन्ट कारखाना जस्तै अलपत्र भएको बताएका थिए ।
‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । सबै सामान छन्, तर चल्दैन । हामीलाई चलाउने जिम्मा दिनुस्, हामी चलाउँछौँ,’ बालेनले भने ।
उनले चुनावी प्रचारप्रसारका क्रममा देशभरका समस्या उस्तै रहेका आफूले पाएको र अब निर्वाचनपछि बन्ने सरकारले ती समस्याको सम्बोधन गर्ने स्पष्ट पारे । कार्यक्रममा आएका समर्थकहरूले बालेनको पक्षमा हुटिङ गर्न थालेपछि ‘आइ लभ यु भन्न पनि दिँदैन यार’ भनेर बिट मारेका थिए ।
बालेनलाई रविले चितवनमा स्वागत गरेका थिए । ‘निलो क्रान्तिको उद्गम स्थल चितवनमा स्वागत छ,’ रविले भनेका थिए । मञ्चबाटै झापा–५ का उम्मेदवार रहेका बालेनलाई रविले अग्रिम बधाई दिएका थिए ।
‘चितवनबाट म झापा–५ का उम्मेदवारलाई बधाई दिन चाहन्छु । आउने दिनको परिकल्पना गर्दै बालेनजीलाई झ्याप्पै अंगालो हाल्छु । तपाईं झ्याप्पै घण्टीमा भोट हाल्छु’, रविले भने ।






