काठमाडौँ । यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ । यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम हुने सम्भावना छ ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना स्वीकृत गरेको छ । बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ ।
यसले विपत् हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने गरी कानुनी बाटो खोलेको प्राधिकरणले जनाएको छ । साथै, विपद्को समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत भएको छ ।






