Logo
४ जेष्ठ २०८३, सोमबार
|  Mon May 18 2026

एलपी ग्यासको अनुदान खारेजी गरी विद्युतीय चुल्होमा अनुदान दिने सरकारको तयारी


काठमाडौँ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रणनीति तयार पारेर आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ । विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ४१ अर्ब ६५ करोड बराबरको खाना पकाउने ग्यासको आयात भएको छ । सो अवधिमा कूल ४१ लाख मेट्रिक टन ग्यास आयात भएको छ । आव २०८१/८१ मा कूल ६२ अर्ब ५८ करोड बराबरको ग्यास आयात भएको थियो । सो आवमा ५५ लाख मेट्रिक टन ग्यास आयात भएको थियो । यस्तै आव २०८०/८१ मा रु ५५ अर्ब बराबरको ग्यास आयात भएको थियो ।

नेपाल आयल निगमका अनुसार चालु आवमा मासिक ४८ हजार मेट्रिकटन बराबरको ग्यास आयात हुने गरेको छ । निगमको पछिल्लो विवरणलाई आधार मान्दा प्रतिसिलिण्डर ३३१ दशमलव २५ रूपैयाँ घाटा हुने गरेको छ । निगमले हाल प्रतिसिलिण्डर रु दुई हजार १६० मा बिक्री गर्दै आएको छ ।

विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने गरेको छ । यो रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका ऊर्जा मन्त्रालयले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ तय गरेको हो । सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आव २०९२/९३ सम्म पूरा गर्नेगरी समयसीमा निर्धारण गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले यसअघि नै खाना पकाउने विद्युतीय चुल्हो प्रयोगको अभियान अगाडि बढाएको छ । स्थानीय तहहरूले पनि यसलाई प्रभावकारी रूपमा अगाडि बढाएका छन् । जनस्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यका लागि पनि विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिन लागिएको सो रणनीतिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार