काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक गाडीको दर्तामा रोक लगाएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाडी दर्तामा रोक लगाएको हो ।
यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न निर्देशन दिएको हो ।
इन्धनको बढ्दो मूल्य र गाडीको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाडीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानुनी व्यवस्था छ ।
सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ ।








