काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन् । उनले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे ।
उनले उखु किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै अब रोपाइँको सिजन सुरु हुन लागेकाले आवश्यक मलको व्यवस्था समयमै गर्नुपर्ने बताए ।
सांसद सिंहले हालसम्म पर्याप्त मल उपलब्ध हुन नसकेको उल्लेख गर्दै आगामी १०–१५ दिनभित्र रोपाइँ सुरु हुने भएकाले किसानलाई समस्या नपर्ने गरी मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरे ।





