काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गठित समितिले प्रतिवेदन तयार पारेको छ। जेठ १८ गते नै म्याद सकिएको समितिले पाँच दिनको थप म्याद मागेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो।
अकुत सम्पत्ति जोडेको, त्यसको स्रोत नभएको र विवादित व्यवसायी दीपक भट्ट साझेदार रहेका तथ्य सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको छानबिन समितिले प्रधानमन्त्रीको समय लिएर प्रतिवेदन बुझाउने तयारी गरेको छ। गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालय खाली राखिएको छ। संभवत छानबिन समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई गृह मन्त्रालयमा फर्काउने छन्।





