काठमाडौं । श्रम संस्कृति पार्टीले सीमासम्बन्धी प्रधानमन्त्री बालेन साहको अभिव्यक्तिविरुद्ध शनिवार काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यस विषयमा अन्य राजनीतिक दलहरूको धारणा पनि सार्वजनिक हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीको भनाइपछि त्यसलाई स्पष्ट पार्ने प्रयास स्वरूप परराष्ट्र मन्त्रालय र सरकारका प्रवक्ताले दिएको प्रतिक्रिया पनि पर्याप्त नभएको टिप्पणी गरे ।
उनले एउटा गल्तीलाई ढाकछोप गर्न अर्को गल्ती गर्न नहुने उल्लेख गर्दै सरकारले यस विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए । प्रदर्शनमा सहभागीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।





