काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्ने जानकारी दिए । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ।
दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ। महामन्त्री बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ । यसैगरी, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्नेगरी सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
अहिलेसम्म प्रतिनिधिसभा प्रतिनिधिसभा नियमावली २०७९ अनुसार चलिरहेको थियो। जेठ १७ गते विपक्षी दलहरूले घेरा गर्दागर्दै प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो । त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। भोलि नै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।





