Logo
२५ जेष्ठ २०८३, सोमबार
|  Mon Jun 8 2026

५० अर्ब विद्युत् महसुल बक्यौता असुल गर्न प्राधिकरणलाई ऊर्जामन्त्री श्रेष्ठको निर्देशन


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकता दिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

बक्यौता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन उनले प्राधिकरणलाई भनेका हुन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरूको छुट्टाछुट्टै बैठकमा उनले महसुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फस्र्यौट गर्नुपर्ने सुझाव दिए ।

बक्यौता असुली गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खिएर बस्न नहुने बताउँदै उनले विगतमा अध्ययन, छानबिन र निर्णयहरु भइसकेकाले थप निर्णयको आवश्यकता नरहेको बताए ।

ऐन, नियममा भएको प्रक्रियाअनुसार नै अगाडि बढ्न प्राधिकरणलाई उनले निर्देशन दिए । डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेका बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताए । महालेखा परीक्षकको ६३ औं प्रतिवेदनमा विद्युत महसुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ बराबर रहेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार