काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको बताएको हो ।
मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । तर, अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने भ्रामक सूचना फैलिएका कारण केही प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले मतपत्र तथा नामावलीमा देखिएका केही त्रुटिहरू सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न, करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न र प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई सहज बनाउन निर्वाचन रोकिएको प्रस्ट पारेका छन् ।




