काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनःस्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेक्रममा अर्थमन्त्री वाग्लेले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए ।
अर्थमन्त्री वाग्लेले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्ण रूपमा तंग्रिन नसकेको उल्लेख गर्दै विगत केही वर्षदेखि कमजोर माग (एग्रिगेट डिमान्ड) का कारण आर्थिक गतिविधिमा शिथिलता आएको बताए।
अर्थमन्त्री वाग्लेले कम्युनिस्ट पार्टी ल्याएको नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको कार्यक्रम भएकाले फरक रहेको बताए ।उनले भेनेजुयला र जिम्बाबेको नभएर चीनले जसरी गरिबी घटाउने गरी बजेट ल्याएको दाबी गरे ।
उनले अरुले करको दर घटाउने दायरा बढाउने भनेपनि नगरेको र आफूले आँट गरेको बताए ।उनले शिक्षा, स्वास्थ्यलगायतमा लगाइएको करभन्दा ज्यादा गरी व्यक्तिगत आयमा लाग्ने आयकरमा भारी छुट दिएको बताए । १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्र कर तिरे हुने व्यवस्थाले धेरै राहत र छुट मिलेको भन्दै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाइएको सामान्य करभन्दा बढी फाइदा पुगेको दाबी गरे ।





