भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा संकलन नगरेको स्पष्ट पारेका छन् ।
महाधिवेशन स्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए ।
महाधिवशेन सञ्चालनका लागि चार करोड रूपैयाँ लाग्ने अनुमान रास्वपाले गरेको छ । सो रकम सांसद, केन्द्रीय समिति, विभिन्न विभागका सदस्यबाट उठ्ने लेबी तथा महाधिवेशन प्रतिनिधिबाट उठ्ने उनले बताए ।
उनले शुभेच्छुकहरूलाई आन्तरिक रूपमा ‘क्युआर’ पठाइएको बताए । रास्वपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठान नपरेको उनको भनाइ छ ।
रास्वपाका नेता तथा कार्यकर्ता यातायात र आवासको व्यवस्था आफैँ गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाले बताए । व्यापारिक घरानामा रसिद पठाउने अभ्यास बन्द गर्नुपर्ने उनले बताए ।





