काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिबेला लोकतन्त्र अपहरित भएको, देश प्रतिगमनतर्फ गएको र देशको अस्तित्व खतरामा रहेको बताएका छन् ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले गत फागुन २१ मा गरिएको प्रतिनिधिसभाको निर्वाचन भदौ २३/२४ को घटना तथा त्यसपछिका अवैध र असंवैधानिक कामलाई वैधानिकता दिन रचिएको प्रपञ्च भएको बताएका हुन् ।
निर्वाचनमा गुणस्तरहीन मसीको प्रयोग र मतपेटिका मतगणनास्थलसम्म पुर्याउने काम शङ्काष्पद देखिएको उल्लेख गर्दै प्रमाणले पुष्टि नगरेसम्मका लागि निर्वाचन परिणाम स्वीकारिएको उनले स्पष्ट गरे ।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष ओलीले राष्ट्रियता र देशको अस्तित्व खतरामा रहेको बताए । यो सरकारले आफ्नो पहिलो निर्णयबाटै विपक्षीमाथि दमन गर्ने नीति लिएको र विना आधार र कारण विपक्षी नेतालाई गिरफ्तार गर्ने, थुन्ने काम गरेको र यो क्रम अहिले पनि जारी रहेको भन्दै उनले सरकार फाँसीवादी, नाजिवादी शैलीमा अगाडि बढिरहेको भेलामा सहभागीहरूलाई जानकारी गराए ।
सरकार प्रतिपक्षसँग पञ्चायतमा भन्दा निकृष्ट र घटिया ढङ्गले व्यवहार गरिरहेको भन्दै अध्यक्ष ओलीले यस्तो प्रतिकूल परिस्थितिमा अब पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित गर्न भेलामा सहभागी पार्टीका नेताकार्यकर्ताहरूलाई आग्रह पनि गरे ।
उनले वर्तमान सरकार जनताको सेवक होइन, शासक बन्न खोजिरहेको बताए । नेपाल कम्युनिष्ट पार्टीले पनि २०७४ को निर्वाचनमा करिव दुईतिहाइ बहुमत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको स्मरण गर्दै अध्यक्ष ओलीले तर यस्तो आतङ्क नगरेको बताए ।





