ललितपुर। ठैब मस्तिष्क पक्षाघात संरक्षक समाज र गोदावरी नगरपालिका वडा नं. ४ बडिखेलको सहकार्यमा मस्तिष्क पक्षाघात सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार सम्पन्न उक्त सचेतनामुलक कार्यक्रममा मस्तिष्क पक्षाघातका कारण, लक्षण, रोकथामका उपाय तथा प्रभावित व्यक्तिहरूको हेरचाह र पुनःस्थापनाका विषयमा जानकारी गरिएको थियो। यसैगरी, कार्यक्रममा अपाङ्गता भएका व्यक्तिकाे क्षमता , रुचि,अपाङ्गताकाे प्रकार, उनीहरूकाे सुरक्षा र संरक्षकको भूमिकाबारे विश्लेषण गरिएको थियाे ।
सहभागीहरूलाई विशेषज्ञ तथा प्रशिक्षकहरूले मस्तिष्क पक्षाघात भएका व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण अपनाउन, उनीहरूको क्षमता विकासमा सहयोग गर्न तथा समावेशी समाज निर्माणमा सबैको भूमिका महत्त्वपूर्ण रहने विषयमा प्रशिक्षण दिएका थिए।
गोदावरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सानुभाई नगरकोटीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, प्रशिक्षक, सहभागी तथा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमले अपाङ्गता भएका व्यक्ति तथा मस्तिष्क पक्षाघात सम्बन्धी भ्रम चिर्न, प्रभावित व्यक्तिहरूप्रति सम्मान र सहयोगको भावना विकास गर्न तथा समुदायस्तरमा सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव प्रेम कुमारी राई, कर्मचारीहरू,अपाङ्गता भएका व्यक्तिहरू, बाल क्लबका विद्यार्थीहरु,सराेकारवाला,अपाङ्गता भएका व्यक्तिहरूका अभिभावक, संरक्षक, स्वयंसेवीकाहरू लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।





