Logo
१७ असार २०८३, बुधबार
|  Thu Jul 2 2026

प्रत्येक विषयलाई भूराजनीतिक दृष्टिकोणबाट मात्र हेर्नु हुँदैनः परराष्ट्रमन्त्री खनाल


काठमाडौैँ। परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्। उनले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको समेत बताए।

मन्त्रालयद्वारा आयोजना गरिएको ‘प्रा यदुनाथ खनाल व्याख्यान शृङ्खलाको पाँचौँ संस्करण’ मा उनले विश्वमा प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै आर्थिक साधन, आपूर्ति शृङ्खला तथा महत्त्वपूर्ण पूर्वाधारले अन्तरराष्ट्रिय सम्बन्धमा बढ्दो प्रभाव पारिरहेको बताए।

लामो समयदेखि महत्त्वपूर्ण सुरक्षा कवच प्रदान गर्दै आएको बहुपक्षीय प्रणाली बढ्दो दबाबको सामना गरिरहेको बताउँदै उनले यसका बाबजुद सहकार्य, सम्पर्क सञ्जाल, प्रविधि तथा आर्थिक साझेदारीका नयाँ सम्भावना पनि उदाइरहेका उल्लेख गरे।

नेपालले यस परिवर्तनशील परिवेशलाई स्पष्टता, आत्मविश्वास तथा विवेकशीलताका साथ सामना गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरू, पञ्चशील, असंलग्नता तथा शान्तिपूर्ण सहअस्तित्वप्रति दृढ प्रतिबद्ध रहेको बताए ।

मन्त्री खनालले असंलग्नतालाई निष्क्रियता वा एकान्तताका रूपमा बुझ्न नहुने उल्लेख गर्दै  खनालले तर्क गर्नु भएझैँ, यसका लागि सक्रिय संलग्नता, सुदृढ निर्णय क्षमता तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई नेपालको आफ्नै हितको दृष्टिकोणबाट मूल्याङ्कन गर्ने क्षमता आवश्यक पर्ने बतए । प्राध्यापक खनालले राजनीतिक स्थायित्व तथा प्रत्यक्ष आर्थिक प्रगतिबाट कूटनीतिले विश्वसनीयता प्राप्त गर्ने उल्लेख गरेका थिए ।

मन्त्री खनालले जनताले थप अवसर, विकास तथा समृद्धिको आकाङ्क्षा राखेका र परराष्ट्र नीतिले बढ्दो रूपमा यी राष्ट्रिय आकाङ्क्षाको सेवा गर्नुपर्नेमा जोड दिए । यस सन्दर्भमा सरकारले सुशासन तथा तीव्र आर्थिक वृद्धिलाई आफ्ना प्राथमिकताका केन्द्रमा राखेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार