Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन


गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई होटेल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जबाफदेहितासम्बन्धी कार्य प्रभावकारी बनाउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको परिपत्रमा देशभर सञ्चालनमा रहेका केही होटेल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ कमजोर रहेको गुनासा प्राप्त भएको उल्लेख गर्दै त्यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

परिपत्रमा नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरी नागरिकका गुनासो तत्काल सम्बोधन गर्न तथा विधिको शासन र सार्वजनिक हित सुनिश्चित गर्न उच्च प्राथमिकताका साथ काम गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई होटेल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खाद्यान्नको गुणस्तर र खाद्य स्वच्छतासम्बन्धी नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न निर्देशन दिएको छ । अनुगमनलाई प्रक्रियामै सीमित नराखी परिणाममुखी बनाउन तथा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्ने वा प्रचलित कानुन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि भनिएको छ ।

यस्तै, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासा दर्ता गर्न सक्ने गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रुत सेवा डेस्क) तत्काल स्थापना गर्न निर्देशन दिइएको छ । नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार