Logo
२१ असार २०८३, आईतवार
|  Mon Jul 6 2026

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गर्न गृहमन्त्रीको ७ दिने अल्टिमेटम


काठमाडौं । गृहमन्त्री सुदन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन दिएका छन् ।

आइतबार अस्पतालको स्थलगत अनुगमन गर्दै गृहमन्त्री गुरुङले अस्पतालको जग्गा कब्जा गरेर सञ्चालन भइरहेका संघसंस्था र पसललाई सात दिनभित्र खाली गर्न अल्टिमेटम दिएका हुन् ।

कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा विभिन्न संघसंस्था र व्यक्तिले अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । यसअघि अस्पताल प्रशासनले पटक–पटक सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गर्दै आएका थिए । त्यसपछि गृहमन्त्री स्वयं अनुगमनमा पुगेका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अस्पताल परिसरमा सञ्चालित फार्मेसी सञ्चालकहरूसँग प्रत्यक्ष संवाद गरेका थिए । सो क्रममा उज्वल फार्माका सञ्चालक अरुण ठाकुर ब्राह्मणले आफूहरूले गणेश मन्दिर समितिलाई मासिक ६० हजार रुपैयाँ भाडा तिर्दै आएको जानकारी दिए ।

जवाफमा गृहमन्त्री गुरुङले अस्पतालको जग्गाको भाडा मन्दिर समितिलाई तिर्न नमिल्ने भन्दै सात दिनभित्र समितिसँग समन्वय गरी स्थान खाली गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री गुरुङले सरकारी जग्गामा अनधिकृत रूपमा कब्जा जमाउने कार्य सह्य नहुने स्पष्ट पार्दै व्यवसायीहरूलाई समितिसँग समन्वय गरेर लिखित रूपमा आफ्नो धारणा पेश गर्न र सात दिनभित्र समस्या समाधान गर्न निर्देशन दिए । अनुगमन टोलीमा स्वास्थ्यमन्त्री निशा मेहताको पनि उपस्थिति थियो । गत असार ५ गते अस्पतालले १५ दिनभित्र अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो । नापी कार्यालय मोरङको फिल्ड रेखांकन प्रतिवेदनअनुसार अस्पतालको स्वामित्वमा रहेका कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ मा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा प्रयोग गरिरहेको भन्दै अस्पतालले खाली गराउन आग्रह गरेको थियो । तर हालसम्म ती संरचना हटाइएको छैन ।

नेपाल क्षयरोग निवारण संस्थाले अस्पतालको ६ कट्ठा ८ धुर जग्गा ओगटेर पक्की भवन निर्माण गरेको छ । उक्त भवनका कोठा भाडामा लगाएर मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।

त्यसैगरी, गणेश मन्दिर व्यवस्थापन समितिले दुई कट्ठा जग्गा ओगटेर निर्माण गरेका व्यावसायिक सटरबाट मासिक एक लाख ६० हजार रुपैयाँभन्दा बढी भाडा उठाउँदै आएको छ । नेपाल रेडक्रस सोसाइटीले पनि दुई कट्ठाभन्दा बढी जग्गा कब्जा गरी बैंक र अन्य पसललाई भाडामा दिएर मासिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ भने देवकोटा पुस्तकालयले दुई कट्ठा १० धुर जग्गा ओगटेको छ । अनुगमनपछि स्वास्थ्यमन्त्री निशा मेहताले एक साताभित्र अस्पतालको अतिक्रमित जग्गा खाली गराइने बताइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार