काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र नभई विश्व मानवअधिकार प्रणालीसँग जोडिएको महत्वपूर्ण संरचना भएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले आयोगले संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणाली तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संस्थाहरूसँग सहकार्य गर्दै नेपालको मानवअधिकार अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने काम गर्दै आएको उल्लेख गरे ।
उनले आयोगको प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्नु राष्ट्रिय मानवअधिकार आयोगको अवमूल्यन मात्र नभई अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयतामाथिको प्रश्न भएको बताए ।
सांसद केसीले आयोगका अध्यक्षका अनुसार आयोगका सुझावमध्ये हालसम्म करिब १३ प्रतिशत मात्र कार्यान्वयन भएको उल्लेख गर्दै आयोगका सदस्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद र खेदपूर्ण भएको बताए । उनले उक्त प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, सांसदहरूलाई उपलब्ध गराउन र आवश्यक कानुनी कारबाही तत्काल सुरु गर्न सरकारसँग माग गरे ।





