नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक डाकेको हो। बैठकमा पार्टीको १४ औं महाधिवेशन तयारीका विविध विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शनिवार पदाधिकारी बैठक बसेर केन्द्रीय समितिका बैठकका विषयहरु तय गरिएको थियो। पार्टीको केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति हेरफेर गरेकोले त्यसलाई वैधानिक मान्यता दिन केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने हुन्छ।
मंसिर ९ देखि १३ गतेसम्म हुने भनिएको कांग्रेसको केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले मंसिर २४ देखि २६ गते गर्ने गरी कात्तिक ११ गते मिति हेरफेर गरेको थियो। त्यसैगरी क्रियाशील सदस्यता विवाद टुंगो लागेको स्थानका विषयमा पनि केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने प्रवक्ता शर्माले बताए।
त्यसअघि संस्थापनइतरका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, डा शेखर कोइरालालगायतको भेला बत्तीसपुतलीमा बसेको थियो। शुक्रवार बसेको उक्त भेलाले डडेल्धुरामा भएको पार्टीको अधिवेशनबारे एक भएर बोल्ने तयारी गरेको छ। यद्यपि संस्थापनइतरमा सक्रिय सहभागिता जनाउँदै आएका नेता प्रकाशमान सिंह भने भेलामा सहभागी भएनन्। पौडेलले आफ्नो कुरामा ध्यान नदिएको भन्दै प्रकाशमानले भेला बहिस्कार गरेका थिए।
संस्थापनइतरमा सभापतिका आकांक्षी चार जना रहेकाले सबैलाई मिलाएर अघि बढ्न पौडेललाई हम्मे परिरहेको छ।
त्यसअघि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेको थियो। त्यही बैठकमा केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषय तय भएको बताइएको छ।





