काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकमाथि भएको दुव्र्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले विज्ञप्ति जारी गरी साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडका दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न माग गरेको छ।
संघका अनुसार घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुव्र्यवहार गरेका थिए। उक्त घटनाको संघले घोर भत्र्सना गरेको छ।
संघले टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग दोहोर्याएको छ। साथै चिकित्सकहरूको मानमर्दन गरेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न सरकारसँग माग गरेको छ।
राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको आरोप लगाउँदै संघले आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जानकारी दिँदै आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन अपील गरेको छ। साथै सेवाबन्दीबाट बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारकै हुने उल्लेख गरेको छ।





