Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

वार्ता असफल भए इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी


रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सकारात्मक वार्ता भइरहेको दाबी गर्दै सम्झौताको सम्भावना रहेको बताएका छन् । तर वार्ता निष्कर्षमा नपुगे अमेरिकी सैन्य कारबाही पुनः सुरु हुने चेतावनी पनि दिएका छन् ।

सोमबार वासिङ्टनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘हाम्रो वार्ता राम्रो भइरहेको छ। केही सकारात्मक हुने राम्रो सम्भावना छ। यदि सम्झौता भयो भने राम्रो, नभए दुई दिनअघि जस्तै फेरि कारबाहीमा फर्किनेछौं ।’

मिशिगनमा आयोजित चुनावी सभामा उनले इरानलाई लक्षित गर्दै, ‘उनीहरूलाई लोभ्याउन सकिँदैन। उनीहरूलाई परास्त गर्नुपर्छ, र हामी त्यसै गर्नेछौं। तर अहिले निकै मैत्रीपूर्ण वार्ता भइरहेको छ,’ भने।ट्रम्पको अभिव्यक्तिबीच सोमबार साउदी अरेबिया, जोर्डन र इराकले ड्रोन आक्रमणको जानकारी दिएका छन्, जसले क्षेत्रीय तनाव अझै कायम रहेको संकेत गरेको छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको पुष्टि गर्दै इरानले वार्ताको पहल गरेको भन्ने समाचारलाई “बनावटी“ भएको बताएका छन्।

यसअघि रायटर्ससँग कुरा गर्दै एक वरिष्ठ इरानी अधिकारीले ट्रम्पले घोषणा गरेको युद्धविराम कायम रहेसम्म इरानले पनि आफ्ना आक्रमण रोक्ने बताएका थिए।यसैबीच, इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकी जहाजहरूले आफ्ना समुद्री क्षेत्रमा तेल ट्यांकर र अन्य जहाजलाई धम्की दिएको तथा ‘अवैध समुद्री नाकाबन्दी’ लागू गर्ने प्रयास गरेको आरोप लगाएको छ। इरानले यसलाई क्षेत्रीय तनाव बढाउने कदम भनेको छ।

साउदी अरेबियाले रियादसहितका पेट्रोलियम पूर्वाधारलाई लक्षित गरी प्रहार गरिएका ड्रोनहरू खसालिएको जनाएको छ। ती ड्रोनहरू इरान समर्थित इराकी सशस्त्र समूहबाट प्रक्षेपण गरिएको दाबी गर्दै साउदीले आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको जनाएको छ।

उता, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको यान्बु बन्दरगाहसम्म तेल पुर्याउने ईस्ट–वेस्ट पाइपलाइनलाई निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले यसलाई साउदी ड्रोन आक्रमणको प्रतिशोध भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार